रूपा, कास्की। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित श्री शिवालय माध्यमिक विद्यालयमा शुक्रबार रूपा गाउँपालिकास्तरीय अन्तरविद्यालय सामूहिक लोकनृत्य प्रतियोगिता तथा खेलमैदान उद्घाटन समारोह सम्पन्न भएको छ।
श्री शिवालय माध्यमिक विद्यालयमा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न
अमृत अधिकारी
रुपा गाउँपालिका , १६ असोज ।
रूपा, कास्की। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित श्री शिवालय माध्यमिक विद्यालयमा शुक्रबार रूपा गाउँपालिकास्तरीय अन्तरविद्यालय सामूहिक लोकनृत्य प्रतियोगिता तथा खेलमैदान उद्घाटन समारोह सम्पन्न भएको छ।
श्री शिवालय माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका बडा नम्बर २ का बडा अध्यक्ष राजन सुवेदी रहनुभएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्किने सामूहिक लोकनृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिताको निर्णायकको भूमिका कविता पौडेल र उपेन्द्र गुरुङले निर्वाह गर्नुभएको थियो। निर्णायकहरूले सहभागी विद्यालयका विद्यार्थीहरूको नृत्य, प्रस्तुति तथा कलात्मक पक्षको मूल्याङ्कनका आधारमा नतिजा निर्धारण गर्नुभएको थियो।
कार्यक्रममा थुम्की युवा क्लबका अध्यक्ष मिलन थापा, संगित क्षेत्रका झलक गुरुङ, छिमेकी विद्यालयका प्रधानाध्यापक पोष्टराज सुवेदी, पूर्वविद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदी तथा रूपा गाउँपालिकाका शिक्षा प्रमुख बाबुराम गैह्रलगायतले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपाली मौलिक कला, संस्कृति र लोकनृत्यको संरक्षण तथा प्रवर्द्धनमा जोड दिनुभएको थियो।
कार्यक्रममा आठ बिद्यालयका बिद्यार्थीले भाग लिएका थिए भने प्रतियोगिताको नतिजाअनुसार प्रथम स्थान रामकोट माध्यमिक विद्यालय, द्वितीय स्थान रुपा ज्योति माध्यमिक विद्यालय, तृतीय स्थान विश्वशान्ति माध्यमिक विद्यालय र सान्त्वना स्थान पृथ्वीरूपा माध्यमिक विद्यालयले हासिल गरेका छन्। विजेता विद्यालयहरूलाई नगद पुरस्कार प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन जय राम सुवेदीले गर्नुभएको थियो। प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र लोकनृत्यको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमसँगै विद्यालयको खेलमैदान उद्घाटनसमेत गरिएको आयोजकले जनाएको छ।