ट्रेन्डिङ
ट्रेन्डिङ समाचार लोड हुँदैछ...
Smart Sanchar Logo
गृहसमाचारलेखनाथ नगरपालिका पुनर्स्थापनाको अभियान तीव्र, विशेष नगरसभा बोलाउन माग
समाचारगण्डकी प्रदेश

लेखनाथ नगरपालिका पुनर्स्थापनाको अभियान तीव्र, विशेष नगरसभा बोलाउन माग

स्मार्ट सञ्चार संवाददाता८ दिन अघि
122 हेराई
समाचार साझा वा लिङ्क कपि:
WhatsAppFacebook
लेखनाथ नगरपालिका पुनर्स्थापनाको अभियान तीव्र, विशेष नगरसभा बोलाउन माग
लेखनाथ नगरपालिका पुनर्स्थापनाका विषयमा छलफल तथा आवश्यक निर्णय गर्न पोखरा महानगरपालिकाको विशेष नगरसभा बैठक बोलाउन माग
लेखनाथ, २३ भदौ । लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै सञ्चालन भइरहेको अभियान तीव्र बन्दै गएको छ। लेखनाथ नगरपालिका पुनर्स्थापनाका विषयमा छलफल तथा आवश्यक निर्णय गर्न पोखरा महानगरपालिकाको विशेष नगरसभा बैठक बोलाउन माग गर्दै नगरसभा सदस्यहरूले हस्ताक्षरसहितको निवेदन महानगरपालिकाका मेयर धनराज आचार्यसमक्ष पेश गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ लगायत नगरसभा सदस्यहरूको हस्ताक्षरसहित निवेदन पेश गरिएको हो। नगरसभा सदस्यहरूको एक तिहाइभन्दा बढी हस्ताक्षर संकलन गरी विशेष नगरसभा बोलाउन माग गरिएको बताइएको छ। निवेदनमा पोखरा महानगरपालिका गठनका क्रममा साविक लेखनाथ नगरपालिका तथा केही साविक गाउँ विकास समितिहरू महानगरपालिकामा समेटिएको उल्लेख गर्दै करिब एक दशकको अनुभवका आधारमा कास्की जिल्लामा पोखरा महानगरपालिकासँगै अर्को नगरपालिका आवश्यक रहेको दाबी गरिएको छ। साविक लेखनाथको जनसंख्या, भूगोल, प्राकृतिक स्रोत–साधन तथा आर्थिक सम्भावनालाई दृष्टिगत गर्दा छुट्टै नगरपालिका कायम गर्नुपर्ने माग निवेदनमा गरिएको छ। त्यस्तै, संघीय सरकारले संविधान संशोधन तथा स्थानीय तह पुनःसंरचनासम्बन्धी विषयमा छलफल अघि बढाइरहेको अवस्थामा जनभावनाअनुसार लेखनाथ नगरपालिका पुनर्स्थापनाको विषयमा गम्भीर छलफल गर्नुपर्ने उल्लेख गरिएको छ। विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनासम्बन्धी प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत संघीय सरकारसमक्ष पठाउन समेत माग गरिएको छ। निवेदन बुझ्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कानुनी परामर्शपछि विशेष नगरसभा बैठक बोलाएर मागअनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने बताएका छन्। आचार्यले कास्की जिल्लामा हाल रहेका पाँच स्थानीय तहको संख्या बढाएर कम्तीमा १० वटा पालिका बनाउन आफूले पहल गरिरहेको समेत जानकारी दिए। धेरै स्थानीय तह हुँदा विकास निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गर्न सहज हुने धारणा राख्दै उनले कास्कीमा पाँच पालिका मात्र नभई कम्तीमा १० वटा पालिका बनाउने अवधारणासहित केन्द्र सरकारसमक्ष प्रस्ताव लैजाने बताएका छन्। यसैबीच, लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानका संयोजक शालिग्राम पौडेलले समृद्ध विकास र समृद्ध लेखनाथ निर्माणका लागि लेखनाथ नगरपालिकाको पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्। उनले लेखनाथको छुट्टै पहिचान, विकास र स्थानीय आवश्यकतालाई सम्बोधन गर्न नगरपालिका पुनर्स्थापनाको अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताए। लेखनाथ नगरपालिका पुनर्स्थापनाको मागलाई विशेष नगरसभामार्फत औपचारिक रूपमा अघि बढाउने तयारीसँगै अभियानले अब थप गति लिने देखिएको छ।
समाचार शेयर वा लिङ्क कपि गर्नुहोस्:
WhatsAppFacebook
प्रकाशित: ८ दिन अघि (२०२६-०९-०८)स्मार्टसञ्चार मिडिया नेटवर्क